काठमाडौं, २६ असोज । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गरेका १० वटा तरकारीका नमुनामा विषादी अवशेषको मात्रा उपभोगयोग्य सीमाभित्र रहेको पाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन ललितपुर र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पठाइएको परीक्षण प्रतिवेदनअनुसार विभिन्न स्थानबाट संकलित तरकारीका नमुनामा गरिएको परीक्षणमा सबै नमुना उपभोगयोग्य रहेको देखिएको हो ।
प्रयोगशाला एकाइले २०८३ असोज २६ गते जारी गरेको प्रतिवेदनअनुसार मकवानपुरको थाहा नगरपालिका, धादिङको धुनिबेँसी नगरपालिका, सलाहीको लालबन्दी नगरपालिका, दोलखाको शैलुङ गाउँपालिका तथा भीमेश्वर नगरपालिका, धादिङको गजुरी गाउँपालिका र भारतबाट संकलित तरकारीका नमुना परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका तरकारीमा करेला, बन्दा गोभी, घिरौँला, भिण्डी, परवल, चिचिण्डो र घोडा लगायतका नमुना समावेश छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार सबै १० नमुनाको कैराम्बिट तथा अर्गानोफस्फेट समूहका विषादी अवशेष परीक्षण गर्दा उपभोगयोग्य पाइएको हो ।
प्रयोगशालाले विषादी अवशेषको अवस्थाअनुसार तरकारीलाई उपभोगयोग्य, केही दिन पर्खेर मात्र उपभोग गर्नुपर्ने र विसर्जन गर्नुपर्ने गरी वर्गीकरण गर्ने गरेको छ । प्रतिवेदनअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन पर्खेर पुनः परीक्षण वा उपभोग गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने उल्लेख छ ।
यद्यपि, प्रतिवेदनमा कैराम्बिट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण गरिएको उल्लेख गर्दै अन्य विषादी तथा रसायनका हकमा यो नतिजा लागू नहुने स्पष्ट पारिएको छ ।


2026-10-18-05-10-50.jpeg)











प्रतिक्रिया थप्नुहोस्