विभिन्न जिल्लाका किराना पसल, डेरी उद्योग, होटल तथा रेस्टुरेन्टमा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायीलाई जरिवाना गर्नुका साथै म्याद गुज्रिएका तथा मापदण्डविपरीतका खाद्यवस्तु जफत गरी नष्ट गरिएको विभागले जनाएको छ ।
बाराको निजगढ नगरपालिका–९ स्थित निशा ट्रेडर्समा उपभोग्य मिति समाप्त भएका बिस्कुट, मसला, ग्लुकोभिटा, गुलाबजामुन, सुप, चकलेट, पापड, चामल, भुजा, भुजिया, ड्राक फेन्टासी र सस लगायतका खाद्यवस्तु फेला परेका थिए । संयुक्त अनुगमन टोलीले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम उक्त पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यहाँ करिब २० हजार रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ । पसल व्यवस्थापन गर्न, म्याद गुज्रिएका र म्याद बाँकी रहेका खाद्यवस्तु छुट्टाछुट्टै राख्न तथा पहिले आएको सामान पहिले बिक्री गर्ने (फिफो) प्रणाली अपनाउन निर्देशन दिइएको छ ।
निजगढकै तामागढी डेरी र राधाकृष्ण डेरी उद्योगमा पनि सरसफाइमा कमी तथा लेबल नलगाई दुग्ध पदार्थ उत्पादन र बिक्री गरेको पाइएको छ । दुवै डेरीलाई २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ । तामागढी डेरीबाट लेबल नभएको ६ किलो पनिर र राधाकृष्ण डेरीबाट २१ लिटर मोही जफत गरी नष्ट गरिएको छ ।
काभ्रेको बेथानचोकस्थित मदानी डेरी र बनेपास्थित सर्वोत्तम डेरी फार्ममा खुला दूधको खरिद तथा बिक्री वितरण र खाद्य अनुमतिपत्रसम्बन्धी कैफियत भेटिएपछि अनुमतिपत्र प्राप्त खाद्यवस्तु मात्र खरिद तथा बिक्री गर्न निर्देशन दिइएको छ ।
धादिङको धुनिबेँसीस्थित आरम्भ सप्लायर्समा लेबल नभएको पनिर भण्डारण गरिएको र खुला दूध बिक्रीका लागि राखिएको पाइएको छ । उक्त दूधको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ । आहाना फुड एण्ड बेभरेज प्रालिबाट पनि प्रशोधित दूधको नमुना संकलन गरिएको छ ।
काठमाडौंको नागार्जुनस्थित देउराली स्वीट्समा कृत्रिम खाद्य रङ अव्यवस्थित रूपमा राखिएको र जेरी बनाउन प्रयोग गरिने चास्नी फेला परेपछि छ थान कृत्रिम रङ र चास्नी नष्ट गरिएको छ । धादिङको ट्रान्जिट हाउस रेस्टुरेन्टमा म्याद गुज्रिएका मिरिन्डाका ५० बोतल र माउन्टेन ड्युका चार बोतल फेला परेपछि नष्ट गरिएको छ ।
चितवनको इच्छाकामना–५, मुग्लिनस्थित साधु मिष्ठान्न मारवाडी शाकाहारी होटलमा अखाद्य रङ प्रयोग गरी जेरी तारेको पाइएको छ । अनुगमन टोलीले एक किलो जेरी, अखाद्य रङ र हाइड्रो नामक पदार्थ जफत गरी नष्ट गरेको छ । होटलमा प्रयोग गरिएको तेलको टीपीएम मापन भने मापदण्डअनुकूल पाइएको छ ।
मुग्लिनकै होटल वैष्णवमा प्रयोग भइरहेको तेलको टीपीएम मान २६.५ पाइएपछि एक लिटर तेल नष्ट गरिएको छ । त्यस्तै, धुनिबेँसीको एक खाजा घरमा पुरी पकाउने तेलको टीपीएम मान ३४ पाइएपछि दुई लिटर तेल नष्ट गरिएको छ । तेलको गुणस्तर परीक्षण गर्दा टीपीएम मानले तेलको बिग्रने अवस्था र पुनः प्रयोगको उपयुक्तता आकलन गर्न मद्दत गर्छ ।
चितवनको भरतपुर–२९ स्थित सागर होटलमा म्याद गुज्रिएका ५५ ग्रामका ७४ थान चिजबल र एक लिटरका दुई थान पेय पदार्थ फेला परेपछि जफत गरी नष्ट गरिएको छ । होटलको भित्ता तथा भुइँको मर्मत, फ्रिज व्यवस्थापन र भान्साका कामदारका लागि क्याप, मास्क तथा एप्रोनको व्यवस्था गर्न निर्देशन दिइएको छ ।
भरतपुर–२९ कै नमस्ते खाजाघरमा म्याद गुज्रिएका १७ वटा कुरकुरे र ३२ थान लेज नष्ट गरिएको छ । धादिङको धुनिबेँसीस्थित क्याफे हिमालय क्रिमा म्याद गुज्रिएको एक लिटर किवी फ्रुट क्रस पनि फेला परेको थियो ।
अनुगमनका क्रममा विभिन्न होटल तथा रेस्टुरेन्टमा खाद्य पदार्थ नछोपी भण्डारण गर्ने, काँचो र पाकेको खाना सँगै राख्ने, भान्साको सरसफाइमा कमी गर्ने तथा खाद्य पदार्थको पूर्ण लेबल नभएका सामग्री खरिद र बिक्री गर्ने गरेको समेत पाइएको छ ।
विभागले सम्बन्धित व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न, खाद्य पदार्थ सुरक्षित तापक्रममा राख्न, पूर्ण लेबल भएका र खाद्य अनुमतिपत्र प्राप्त सामग्री मात्र खरिद तथा बिक्री गर्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन र खाद्य पदार्थलाई धुलो तथा कीराबाट सुरक्षित राख्न निर्देशन दिएको छ ।
















प्रतिक्रिया थप्नुहोस्