दाङमा तोरी उत्पादन वृद्धि, क्षेत्रफलसँगै किसानको आकर्षण बढ्दो

घोराही (दाङ), ५ फागुन । दाङ जिल्लामा पछिल्लो समय तोरी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा खेती क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार दाङको तोरीको तेलको माग काठमाडौँ, पोखरा, चितवन र नेपालगन्जलगायत जिल्लाबाट उच्च छ । “पहिलेदेखि नै दाङको तोरी बाहिरी जिल्लामा लोकप्रिय छ,” उनले भने । उत्पादन भएको तोरी सहज रूपमा बिक्री हुने भएकाले किसानहरू थप उत्साहित बनेका छन् । बजारको समस्या नहुँदा तोरी खेती गर्ने किसानको संख्या र क्षेत्रफल दुवै बढेको उनले बताए ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित तोरी जोन कार्यक्रमले पनि उत्पादन वृद्धिमा योगदान दिएको छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार २०० हेक्टर क्षेत्रफलमा खेती गर्दा एक हजार ९३२ मेट्रिक टन उत्पादन भएको थियो । आव २०८०/८१ मा सोही क्षेत्रफलमा दुई हजार चार मेट्रिक टन उत्पादन भयो ।

आव २०८१/८२ मा एक हजार २४२ हेक्टरमा दुई हजार १२३.८२ मेट्रिक टन तथा आव २०८२/८३ मा एक हजार २७८.०२ हेक्टरमा दुई हजार १९८.१९ मेट्रिक टन तोरी उत्पादन भएको तथ्यांक छ । प्रतिहेक्टर उत्पादकत्व १.७२ मेट्रिक टन रहेको परियोजनाका प्राविधिक सहायक सूर्यज्योति केसीले बताए ।

तोरी जोन कार्यक्रम पश्चिम क्षेत्रका दङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका केही वडामा सञ्चालनमा छ । कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्राविधिक सहयोग तथा आधुनिक प्रविधिमा सहुलियत प्रदान गरिएको छ ।

किसानले प्रतिक्विन्टल रु १४ हजारसम्म तोरी बिक्री गरेको बताएका छन् । छोटो अवधिमा उत्पादन लिन सकिने बाली भएकाले गहुँ खेती गर्ने किसानसमेत तोरीतर्फ आकर्षित भइरहेका छन् । जिल्लामा विशेषगरी शान्तिनगर, बबई र दङ्गीशरण क्षेत्रमा व्यावसायिक तोरी खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑