काठमाडौँ, २८ फागुन । नेपालको मूख्य खाद्यन्न बालीभित्र पर्ने धान उत्पादन तथा उत्पादकत्वबारे धेरै चर्चा परिचर्चा हुने गरेको छ । देशको कूल ग्राह्स्त उत्पादनमा धानको योगदान ७ प्रतिशत छ । भने कृषिमा मात्रै धानको योगदान २० प्रतिशत छ । नेपालमा खाने मूख बढ्दै गर्दा धान उत्पादन गर्ने क्षेत्र खासै बढ्न सकेको अवस्था छैन् । चालू आर्थिक वर्षको ७ महिनामा मात्र नेपालले ३२ अर्ब ३८ करोड ७७ लाख रुपैयाँको चामल आयात भएको छ । भन्सार विभागको केही वर्षको तथ्याङ्क हेर्ने हो भने वर्षेनी चामल आयतको ग्राफ बढी रहेको छ । यस्तो अवस्थामा नेपालमा हुने चामल आयात घटाउने प्रमुख आधार चैते धान रहेको विज्ञको भनाई छ । आज हामीले नेपाल अनुसन्धान धान विज्ञ सन्तोष त्रिपाठीसँग चैते धान रोप्ने, गोड्ने र काट्नेबारे कुराकानी गरेका छौं ।
चैते धानबारे केहि बताइदिनुस न ?
सामान्य भाषमा भन्दा चैते धान भनेको माघको अन्तिम हप्तादेखि फागुनको पहिलो हप्तामा बीउ राख्ने र चैतमा गहुँ काटेपछि लगाउने धानलाई चैते धान भनिन्छ । जुन छोटो समयमा नै पाक्छ ।
अरु धान र चैते धानमा के फरक छ ?
मूख्य सिजनको धान पाक्न लामो समय लागेपनि चैते धान छोटो समयमा नै पाक्छ । यो मौसममा लगाएको धान छिटो र धेरै फल्ने हुन्छ । चैतमा दिन लामो र रात छोटो हुने महिनामा पर्छ । आकाशमा बादल नलाग्ने, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालीको हरित कणमार्फत बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुन्छ । आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले रोगको समस्या पनि कम हुन्छ ।
चैते धानमा कुन–कुन जातको धान लगाउन सकिन्छ ?
बाह्रै महिना सिँचाइ सुविधा हुने केहि ठाउँमा मात्र चैते धान लगाउँदै आइरहेका छौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले निकालेका नयाँ जातहरू ग्रामीण किसानकोमा पुग्न र स्थापित हुन अलिक समय लाग्ने गर्छ । पुराना र सजिलै पाइने चैते धानका जात खाँदा त्यति मीठो नहुने किसानको गुनासो पनि सुनिन्छ । यस्तो समस्याका लागि चैते मोटा धानलाई चामलको रूपमा भन्दा चिउराका रूपमा प्रयोग गर्ने र मसिनो जातलाई चामलका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैपनि चैते धानका जात कम छन् । हाल हर्दिनाथ १, चैते ३, चैते २, चैते ४, चैते ५, चैते ६ जातका धान लगाउन सकिन्छ । २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्र सतहदेखि ७५० मिटरसम्म चैते ५ लगाउन सिफारिस गरेको थियो । यो धानको दाना मसिनो, धेरै फल्ने, रोग र कीरा कम लाग्ने भनेर प्रमाणित गरिएको छ । विकल्पका रूपमा किरा कम लाग्ने, मोटो दाना भएको चैते ४, यसैगरी मसिनो दाना हुने, रोग किरा नियन्त्रण गर्न सक्ने हर्दिनाथलाई पनि जोड दिएको छ ।
कस्तो ठाउँमा चैते धान लगाउन सकिन्छ ?
यो तराई तथा पहाडको नदीका किनार तथा गर्मी ठाउँमा मात्र लगाउन सकिन्छ । विशेष गरेर यो तराईमा लगाउने गरिन्छ ।
नेपालमा चैते धानको अवस्था कस्तो छ ? कतिको मात्रामा किसानहरुले यो धान लगाएको पाइन्छ ?
अहिले एक लाख १५ हजार हेक्टरमा चैते धान लगाएको सरकारी तथ्याङ्क रहेको छ । यदि नेपालले चामल आयात निरुत्साहित गर्ने हो भने चैते धानको उत्पादन बढाउनु पर्छ । त्यति मात्र हैन, पछिल्लो समय त सरकारले चैते धान प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम पनि ल्याएको छ । ४/५ वर्षको अन्तरालमा हेर्ने हो भने चैते धान प्रति किसान आकर्षित भइरहेका छन् । पहिला कमै किसानले लगाउने गरेका थिए भने अहिले क्षेत्रफल र उत्पादन बढिरहेको छ । सरकारले पछिल्लो समय चैते धान लगाउन प्रवर्द्धन पनि गरिरहेको छ । यसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ठूलो हात रहेको छ । तर नेपालमा आयात हुने चामल प्रतिस्थापन गर्न यतिले पुग्दैन । अझ विस्तार गर्न आवश्यक रहेको छ ।
यतिका फाइदा हुँदा हुँदै पनि चैते धान नफस्टाउनुको कारण के हो ? के कस्ता समस्या छन् ?
बर्खे धान भन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिँचाइको कमीले किसानहरू आकर्षित हुन सकेका छैनन् । चाहिएको समयमा मल खादको व्यवस्था मिलाउन नसक्दा पनि चोसेअनुरूपको उत्पादन हासिल गर्न नसकिएको हो । कतिपय ठाउँमा सिँचाइकालागि नहरको व्यवस्था भएपनि कृषिमा व्यावसायिक रूपमा लाग्न नसक्नु, भएका नहरको मर्मत संहारमा सरोकारवाला निकाय मौन रहनु, निर्वाहका लागि बर्खे धानमै निर्भर हुनु, किसानहरू चैते धान खेतीमा आकर्षित नहुनु जस्ता अरू धेरै कारणहरु छन् । यसका साथै कतिपय क्षेत्रमा सहरीकरण बढेकाले किसानहरू व्यापार÷व्यवसायमा लाग्नु, खेतीयोग्य जमिन घर÷घडेरीका रूपमा प्रयोग गर्नु, प्लटिङले जग्गा खण्डीकरणको समस्या बढ्नु जसले गर्दा चैते धान लगाउने भूगोल घट्नु, चैते धान खेती एवम् चैते धान उत्पादन घट्नु जस्ता समस्या हुन् । धान खेतीका लागि आवश्यक न्यूनतम किसान समर्थन मूल्य तोक्ने गरिए पनि त्यसको कार्यान्वयनमा धेरै ठूलो समस्या देखिन्छ र यस्ता कार्यक्रमले किसानलाई खासै आकर्षित गर्न सकेको छैन् । यसैगरी अर्को ठूलो समस्या भनेको नयाँ–नयाँ रोग हो । किसान रोगका कारण डराउने गरेका छन् । भने चैते धान काट्ने बेलामा पानी पर्ने हुनाले भण्डारणमा पनि क्षति पुग्ने गरेको छ । त्यस कारण पनि किसानहरू यस खेतीमा आकर्षित भएको पाइँदैन । भिजेपछि बिक्री नहुने, धान नै उम्रने समस्या हुन्छ । विशेष गरी चैते धान भित्राउँदा पानी पर्ने, किसान बेफुर्सदिला हुने, पानी परिरहने र घाममा राम्रोसँग सुकाउन नसकिने हुँदा किसानले त्यति जागर गर्दैनन् । चैते धानलाई विचारगरि धान सुकाउने प्राविधिको व्यवस्था गरिदिँदा केहि हदसम्म उत्पादनमा जोड पुग्छ । जेठको अन्तिम वा असार मध्यमा काटिने यो धान सुकाउन, विशेषगरि सुकाउने मेसिनको व्यवस्था गर्नुपर्ने देखिन्छ । किसानले चैते धान असारमा भित्र्याउन भ्याइ÷नभ्याई भएर आवश्यक सुकाइ गर्न नसक्ने हुँदा धानलाई अर्को वर्षका लागि बिउका रूपमा प्रयोग गर्न सकेका छैनन् । सरकारले किसानलाई यदि ड्रायरको व्यवस्थापन गरिदिने हो भने धेरै अन्न घुन कीरा लागेर कुहिएर जाने अवस्था आउँदैन ।
अहिलेसम्ममा चाहि कतिको मात्रामा सरकारले चैते धान प्रवर्द्धनमा चासो दिएको छ ?
समस्या सँगसँगै सरकारले केही उल्लेखनीय काम पनि गरेको छ । सरकारले चलाएको बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत चैते धान खेतीलाई परापूर्व कालमा जस्तै परम्परागत रूपमा विकास गर्ने उद्देश्यले किसानलाई सहकारी या अन्य कुनै किसान समूहमा जोड्ने काम भइरहेको छ । जसले गर्दा कृषि यान्त्रिकीकरण, अनुदानका लागि कृषक छनोट, प्राविधिक सहयोगमा सहजता आउँछ र कृषिमा चक्लाबन्दीको अवधारणाले पनि टेवा पुगेको छ । युवा पलायनले कृषि क्षेत्रमा चाहिने जनशक्तिको कमी भएको छ । कृषि उपकरण अनुदानमा पाउँदा जनशक्तिको कमी पूर्ति हुनुका साथै समयको बचत एवम् किसानलाई हौसला पनि मिल्ने गरेको छ । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर–जोन, जोन, ब्लक, पाकेट कार्यक्रमले कृषकलाई समूहगत रूपमा जोडेको छ । कृषि यन्त्र एवम् बिउ विजनमा अनुदान, प्राविधिक सहयोग प्रदान गरिएको छ । जसले गर्दा बर्सेनी चैते धानको क्षेत्रफल र उत्पादन बढ्ने अवस्थामा छ । नेपालमा केही स्थानमा चक्लाबन्दीबाट धान खेती गरेपनि धान सुकाउने घरको व्यवस्था गर्न हालसम्म सकिएको छैन । यदि सुकाउने सुविधा दिने हो भने चैतेमा अझ आकर्षण बढाइ आयात निकै घटाउन सकिन्छ । चैते धान समयमै रोपेर मलखाद र पानी व्यवस्थापन गर्न सक्दा बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ ।
चैते धान लगाउँदा के–के कुरामा ध्यान दिनुपर्छ ?
चैते धान लगाउँदा विशेष गरेर समयको ध्यान दिनु पर्ने हुन्छ । छिटो पाक्ने धान लगाउनु पर्ने, काट्ने समयलाई ध्यान दिएर रोप्ने, धान रोप्दा तीनपनको भएपछि रोप्नु पर्ने हुन्छ । सो समयमा झार धेरै हुनाले समय गोड्नु पर्छ ।















प्रतिक्रिया थप्नुहोस्