काठमाडौँ, ६ जेठ । पछिल्लो ३ वर्ष यता मकै बालीमा देखिएको अमेरिकन फौजी किरा तीव्र रूपमा फैली रहेको छ । गोड्ने र धान चमेरा आउने बेला भएको मकै बालीलाई फौजी किराले नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । सन् २०१९ मा नेपाल भित्रिएको फौजी किरा एक वर्षमा नै देशको कुना कुनासम्म फैलियो । फौजी किराको समस्या देखा परेको नेपालमा मात्र भने हैन । सन् २०१६ मा अफ्रिका, २०१८ मा भारत हुँदै २०१९ मा नेपाल भित्रिएको थियो ।
फौजी किराकै कारण ३० देखि ४० प्रतिशत उत्पादनमा कमी आइरहेको वैज्ञानिकको भनाई छ । हाल विभिन्न देशका वैज्ञानिहहरुले फौजी किरा नियन्त्रण तथा रोकथामका लागि अरबौँ डलर तथा वर्षौँ वर्ष समय खर्च गरिरहेका छन् । तर भर पर्दो उपाय पत्ता लगाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा नेपालकै एक जना वैज्ञानिकले मकैलगायत नगदे बालीमा लाग्दै आएको फौजी किराको व्यवस्थापन तथा नियन्त्रणका लागि नयाँ प्रविधिको विकास गरेका छन् ।
ग्रिजजस्तो पदार्थलाई मकैको पातमा प्रयोग गरेर फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ तथ्य पत्ता लगाएको हो । फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ तथ्यको बारेमा आज हामी उक्त प्रविधि पत्ता लगाउने नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय बाली तथा अनुवाशिंक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डा.उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गछौं ।
तपाईँले फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ प्रविधि पत्ता लगाउनु भएको छ । यो प्रविधिको बारेमा जान्नु भन्दा पहिला म फौजी किराको बारे प्रश्न गर्न चाए । यो फौजी किरा भनेको के हो ?
अमेरिकन फौजी कीरा (American Fall armyworm-FAW) पुतली वर्गको रात्रीचर कीरा हो । यसको वैज्ञानिक नाम Spodoptera frugiperda हो । यस कीराको लार्भाले बालीमा कोतरेर खाएर नोक्सानी पुर्याउँछ। यो कीराले ३५३ विभिन्न प्रजातिका बिरुवाहरूमा नोक्सानी पुर्याउँछ। त्यस मध्य पनि मकै धेरै मन पराउँछ । मकै नपाएमा जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसे बालीहरू, काउली वर्गका तरकारी बालीहरू, तेल बाली, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु बालीहरूमा समेत क्षति पुर्याउँछ । यो कीराले एकैचोटी आक्रामक तवरले छिट्टै ठुलो क्षेत्रमा फैलिएर ठुलो क्षति गर्न सक्दछ । उपयुक्त आहारा तथा आवहवाको खोजीमा यो कीराको वयस्क पुतली अण्डा पार्नु अगाडि ५०० किलोमिटर टाढासम्म पनि उडेर जान सक्दछ । मानौँ तराईको कुनै एक ठाउँमा फौजी किरा देखा पर्यो भने एक रातमा काठमाडौँसम्म पनि यात्रा गर्न सक्छन् । भन्नुको मतलब छोटो समयमा धेरै क्षेत्रमा फैलिन सक्छ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूको रैथाने मानिने यो कीरा सन् २०१५ सम्म अमेरिकामा मात्र सीमित थियो । अफ्रिकी महादेश भित्र नाइजेरियामा सन् २०१६ मा पहिलो पटक यो कीराको पहिचान भई हालसम्म त्यस महादेशका अन्य थप ३० देशहरूमा यसको प्रभाव छ । सन् २०१८ मा एसिया महादेशमा भारतको कर्नाटका राज्यमा पहिचान भई हालसम्म अन्य देशहरू जस्तै बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कोरिया, लाओस, मलेसीया, चीन, ताइवान तथा यमनमा फेला परिसकेको छ । र नेपालमा सन् २०१९ मा पहिलो पटक देखा परेको थियो । हाल देशको कुना कुनामा फौजी किराले मकै सखाप पारिरहेको छ ।
फौजी किराको जोखिम कतिको छ र यसले कतिको क्षति गर्छ ?
नेपालमा पहिलो पटक नवलपरासीमा देखा परेको थियो । तर अहिले देशभर जहाँ जहाँ मकै खेती हुन्छ सबै ठाउँमा नै क्षती पुर्याइरहेको छ । हाइब्रिड, उन्नत जात तथा स्थानीय सबै जातका मकै बालीमा फौजी किराको प्रकोप छ । यस अघि पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केही किरा नियन्त्रणका उपाय बताएको छ । पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । फौजी किराले ३० देखि ४० प्रतिशत मकै बालीमा क्षति पुर्याउँछ भने नियन्त्रण विधि अपनाइएन र त्यतिकै छाड्ने हो भने ७० देखि ८० प्रतिशत क्षति पुर्याउछ ।
फौजी किराले धेरै क्षति गर्ने कुरा यहाँले जानकारी गराइसक्छु भएको छ । अब हजुरले पत्ता लगाउनु भएको प्रविधि कै बारेमा जानकारी लिन चाहे । हजुरले पत्ता लगाउनु भएको प्रविधि चैँ कस्तो हो ?
फौजी किराको व्यवस्थापन तथा नियन्त्रणका लागि मैले पत्ता लगाएको नयाँ प्रविधि ग्रिज हो । फौजी किरा नियन्त्रण गर्न विश्वका देशहरूले अरबौँ डलर खर्च गरिरहेका छन् । तर मैले सामान्य वैकल्पिक विधि पत्ता लगाएको छु । त्यसमा सामान्य हार्डवेयर पसलहरूमा पाइने ग्रिजको प्रयोगबाट फौजी किरा नियन्त्रण हुन्छ । अटो मोबाइल, मेसिन, बाइकमा प्रयोग गरिने चिप्लो पदार्थ ग्रिज प्रयोग गरेमा फौजी किरा नियन्त्रण हुन्छ । किराबाट प्रभावित मकैको टुप्पोको नयाँ पातमा करिब शून्य दशमलव १५ ग्राम जति ग्रिज लगाउँदा फौजी किरा भाग्ने गर्छ । फौजी किरा अत्यन्तै खन्चुवा र चलायमान जीव हो, जुन रातको समयमा मकैका नयाँ र नरम पात खान एउटा बोटबाट अर्को बोटमा घुमिरहन्छ । खाँदै गरेको पातमा थोरै मात्रै ग्रिज लगाइदिने हो भने किरा डुल्ने क्रममा ग्रिजमा टाँसिन पुग्छ, जसले गर्दा उसमा एलर्जी उत्पन्न भई सुरक्षित महसुस गर्न ग्रिज लगाएको बोटबाट टाढा भाग्ने गर्छ । यो ग्रिजले लक्षमण रेखाको रूपमा काम गर्छ । त्यसमा टाँसिन मात्र नभई गन्धले मकैको बोटबाट फौजी किरा भाग्छ र अरू वैकल्पिक घाँसहरूको प्रयोग गरेर जीवन निर्वाह गर्छन् । फौजी किराको लार्भा भगाउनको लागि र किसानलाई सस्तो उपाय अपनाउनको लागि यो एउटा विकल्पको रूपमा छ र यो प्रविधि एकदमै राम्रो छ ।
त्यसो भए यो ग्रिज चैँ कहाँ पाइन्छ ?
यो जुनसुकै हार्डवेयर पसल, मेसिनरी सामान पाउने ठाउँमा पाइन्छ र यो एकदमै सस्तो र सर्वसुलभ वैकल्पिक प्रविधिको प्रयोग गरेर किसानले विना रसायन फौजी किरा नियन्त्रण गर्न सक्छन् । पेट्रोल तथा डिजेल गाडीहरू, मोटर बाइक र अटोमोबाइल्स उद्योगमा ग्रिजलाई लुब्रिकेटिङ एजेन्टका रूपमा प्रयोग गरिन्छ ।
त्यसो भए यो कसरी लगाउने ?
यो लगाउन पनि एकदम सजिलो छ । मकै लगाएको खेतको सम्पूर्ण बोटमा ग्रिज लगाउनुपर्छ भन्ने हुँदैन । खेतमा लगाएको मकैको कुल संख्याको बोटको पाँचदेखि १० प्रतिशत जति बोटमा ग्रिज लगाए पुग्छ । यदि कसैको खेतमा किराले आक्रमण गरेको छ भने सुरुमै थोरै थोरै लगाउने र त्यसपछि आक्रमण नै गर्दैन । यदि खाइसकेको छ भने पनि भागेर जान्छ । सबै बोटमा लगाउनु पर्दैन । मानौँ १० रोपनीको २ सय बोटमा फौजि किराले आक्रमण गरेको छ भने २ सय बोटमा ग्रिल लगाउन २ घण्टा लाग्न सक्छ । थोरै थोरै लगाउने हो र मकैको जुन सुकै पातमा लगाउन सकिन्छ । तर किराले कमलो पात खाने हुनाले मकैको गुभामा लगायौँ भने अझ राम्रो हुन्छ ।
अरु पातमा लगाउदा ४ दिनमा भाग छ भने कमलो पातमा लगाउँदा २ दिनमा भाग्छ । मैले भनेको प्रविधि प्रयोग गर्नु होस्, भोलि पल्ट नै ५० प्रतिशत फौजी किरा घटी सकेको हुन्छ । त्यस कारण ग्रिजले किरा भगाउने काम गर्छ । जुन कुरा मैले पत्ता लगाएको छु ।
अब एउटा किसानले ग्रिज प्रयोग गर्यो । तर उसको खेत बारीसँगै जोडिएको अर्को किसानले ग्रिज प्रयोग गरेन भने त उसको बालीलाई सखाप पार्ला नि ?
यस्तो हुँदैन । जसरी मानिसले हामी बुद्धिमानी सम्झन्छौँ । त्यसरी नै जीवजन्तु, किरा फटेङ्ग्राहरूको पनि आफ्नै सेन्स हुन्छ । उसलाई कहाँ सुरक्षित महसुस हुन्छ, कहाँ हुँदैन भनेर राम्रोसँग जानकारी हुन्छ । ग्रिज लगाइसके पछि उनीहरू माटो मुनी बस्छन् र साँझ र बिहान माथि आउँछ । त्यो समयमा चराहरूले खाने गर्छ । अर्को कुरा एक ठाउँमा ग्रिज लगाइसके पछि अर्को ठाउँमा गएर खाएको अहिलेसम्म पनि पाइएको छैन । तर ती किरा जान्छ कहाँ? गर्छ के ? त्यसको अनुसन्धान हुन जरुरी छ ।
उसो भए यो प्रविधि बारे किसानहरूले विश्वास गर्ने आधार चैँ के छ ?
विश्वास गर्ने आधार के भन्दा यसमा मैले ३ वर्ष लगाएर अनुसन्धान गरेको हुँ । सबै भन्दा ठुलो कुरा किसान आफैले प्रयोग गर्नुहोस् । २४ घण्टा भित्र नै रिजल्ट थाहा पाउनु हुने छ । यो जुन सुकै किसानले पनि प्रयोग गर्न सक्छन् ।
यो प्रविधिको विशेषता चैँ के हो ?
- एक पटक प्रयोग गरिसके पछि मकै नफलुन्जेलसम्म अथवा दोस्रो पटक प्रयोग गर्नु पर्दैन ।
- मकैको बोट मानिसभन्दा अग्लो भयो भने विषादी छर्न सक्दैनौँ तर ग्रिज यस्तो वस्तु हो आफू भन्दा अग्लो हुँदा फौजीले आक्रमण गरेको छ भने पनि ग्रिज प्रयोग गर्न सक्छौ ।
अब हामीले कुराकानीमा मकै बालीलाई मात्र बढी जोड् दिएर कुराकानी गर्यौ । यहाँले अघि नै भनिसक्नु भएको छ मकै बाली बाहेक थुप्रै बालीलाई फौजी किराले क्षति गर्छ भने र । अब मकै भन्दा बाहेकका बालीमा फौजी किरा देखा परे ग्रिज कसरी प्रयोग गर्ने ? अथवा प्रयोग गर्न मिल्छ की मिल्दैन ?
तपाईँले एकदमै राम्रो प्रश्न गर्नु भयो । मैले मकै बाली बाहेक उखु, टमाटर, आलु लगाएका बालीमा पनि फौजी किराले आक्रमण गरेको पाएको छु । तर ती बालीका लागि मैले अनुसन्धान गरेको छैन । धेरै जना साधिहरुले अध्ययनको काम गरिरहनु भएको छ । अब ती बालीहरूमा ग्रिजको प्रयोग गरेर अध्ययन गर्न सक्नु हुन्छ । यसमा थुप्रै अनुसन्धानहरू सुरु हुँदै छ । भोलीका दिनमा ग्रिजले फौजी किरा भगाउन मात्र नभएर अरू किरा भगाउन पनि सकिन्छ की भनेर अध्ययन हुन्छ भन्ने कुरामा विश्वस्त छु ।
यो प्रविधिको बारेमा त धेरै कुरा थाहा पाइसक्यो । अब यो प्रविधि पत्ता लगाउन कसरी सम्भव भयो भन्ने कुरा मैले जान्न चाहे ?
म नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत छु । नार्कको राष्ट्रिय बाली प्रजनन् तथा आनुवाशिंक अनुसन्धान खुमलटारमा धानको क्षेत्रमा काम गर्छु । धानमा जति धेरै काम गरे पनि मकैमा फौजी किराले ठुलो समस्या निम्त्यिाइरहेको थियो । एक वर्षमा नै देशको कुना कुना सम्म पुग्यो । मिडियामा पनि फौजी किराले मकै बाली सखाप पर्यो भनेर आएको आएकै गरेका कारण र मैले विभिन्न खाले अध्ययन अनुसन्धान गरिरहने हुनाले मेरो ध्यान फौजी किरा नियन्त्रण तिर गयो । त्यो स्वाभाविक पनि हो । त्यसपछि त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर मैले अध्ययन सुरु गरे । खोज अनुसन्धान गरे । खोज्दै जाँदा बिस्तारै ग्रिजको ठाउँमा आइपुगे । मैले सुरुमा फौजी किराले आक्रमण गरिरहेको मकै बाली लगाएको खेतमा पुगे । सन् २०१९ को अन्तिमदेखि मैले यसलाई प्रयोग गर्न थाले । सर्लाहीको गोडौला नगरपालिका–५ मा १५ प्लटमा परीक्षण गरे । केही क्षेत्रफलमा अहिले प्रयोग हुँदै आएको ‘इमामेबेट्रिन केमिकलको प्रयोग गरे । अर्कोमा त्यसै छाडिदिए र अर्कोमा ग्रिजको प्रयोग गरे । तीन भागमा गरिएको परीक्षणलाई मैले पटक–पटक प्रयोग गरे । करिब तीन वर्षको परीक्षणपछि ग्रिज लगाएको क्षेत्रमा फौजी किरा शून्य हुन पुग्यो भने केमिकल लगाएको ठाउँमा केही नियन्त्रण भए पनि पुनः फर्कियो । अर्को केही पनि प्रयोग नगरेको मकैमा फौजी आक्रमणले उत्पादन घटायो । म सन्तुष्ट भएपछि त्यहाँका किसानलाई पनि प्रयोग गर्न लगाएँ । अहिले निकै सकारात्मक प्रतिक्रिया पाएको छु । यसलाई अहिले बेलायतको नेचर जर्नलले समेत स्थान दियो । मेरा लागि एउटा मिहिनेत सफल भयो ।
अनुसन्धान आफैमा एउटा जटिल प्रक्रिया हो । लामो समयको अनुसन्धान पछि कतिपय अवस्थामा सफलता हात पर्छ भने कतिपय अवस्थामा सफलता नै हात पर्दैन । यो प्रविधिको बारेमा तपाइले अनुसन्धान गरिरहँदा कस्तो कस्तो समस्या भोग्नु भयो ?
यो प्रविधि अनुसन्धानमा मैले समस्या धेरै भोगेको छु । अहिले पनि केही मानिसले नराम्रो भनिरहेका छन् । तर धेरै मानिसले यो प्रविधि मन पराएका छन् र धन्यवाद दिएका छन् । म सबैलाई खुसी पार्न पनि सक्दिन । अब ठुला ठुला वैज्ञानिकहरुले लाखौँ खर्च गरेर रात दिन खटिदा पनि पत्ता लगाउन सकेका छैनन् । तर मैले घरमै बसेर यति ठुलो समस्याको हल निकाले पछि केही मानिसहरू खुसी छैनन् । मैले यतिको समय लाग्दा केही भएन तर अरूले पत्ता लगायो भने दुख मानेका हुन् । सबैभन्दा ठुलो कुरा किसान खुसी छन् । मेरो खुसी त्यसैमा छ ।
यो प्रविधि पत्ता लगाउन अरु वैज्ञानिकको पनि सहयोग छ की ?
यो नार्कको कार्यक्रम हैन । यो मेरो व्यक्तिगत अनुसन्धान हो । म नार्कको एक कर्मचारी मात्र हु । नार्कको पैसा यसमा लागेको छैन । मेरो नितान्त व्यक्तिगत अनुसन्धान हो ।
त्यसो भए अनुसन्धानको दौरान खर्च चै कति लाग्यो ?
खर्च मेरो समय लागेको हो । लाखौँ रुपैयाँ खर्च गरेको छु । तर पैसा भन्दा मेरो लागि समय र उपलब्धि ठूलो हो । पहिला पनि धेरै अनुसन्धान गरिसकेको छु । आउने दिनमा पनि म यस्तो काम गरिरहन्छु । त्यतिकै वस्ने मान्छे म हैन । पैसाको कुरा नगरौं । नार्कबाट पनि मलाई धेरै समयोग छ । मेरो अफिसको हाकिमको पनि धेरै सहयोग छ । त्यसै कारणले त म यहाँसम्म आइपुगेको छ ।
अब यहाँले यति राम्रो प्रविधि पत्ता लगाउनु भएको छ । तर कुरा कन्दराका किसानलाई यो पविधि बारे कसरी जानकारी गराउने ?
जुन प्रविधि राम्रो, सस्तो र भरपर्दो हुन्छ । त्यसलाई प्रचार गर्न आवश्यक छैन । एक कान दुई काम मैदान हुन्छ । एउटा विश्वकै प्रख्यात पेपरमा एउटा आर्टिकल प्रकाशन गर्ने बिक्ति कै विश्वका वैज्ञानीकहरुले सोधि खोजि गरिरहेका छन् । अध्यान सुरु गरिसकेका छन् । १/२ वर्षमा नै यो प्रविधि देशको कुना कुना सम्म पुग्छ । म विश्वस्त छु ।
अरु देश्बाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
अस्ट्रेसलयामा यसको अध्यन अनुसान्धान सुरु भइसकेको छ । अन्य देशमा वैज्ञानीकले पनि सोधि खोजी गरिरहेका छन् । अबको ६ महिनामा थाहा हुन्छ, अरु देशबाट कस्तो प्रतिक्रिया आउँछ भनेर।



जून पातमा फौजी किरा ले आक्रमण गरेको हुन्छ त्यही पातमा लाउनु पर्छ की अर्को पातमा लगानु पर्छ।















जून पातमा फौजी किरा ले आक्रमण गरेको हुन्छ त्यही पातमा लाउनु पर्छ की अर्को पातमा लगानु पर्छ।