सिरहाका किसान गँड्यौला मलतर्फ आकर्षित, रासायनिक मलको झन्झट घट्दै

सिरहा, २५ वैशाख । सिरहाको धनगढीमाई नगरपालिका–१० दनुवारी टोलका किसान अहिले रासायनिक मलभन्दा गँड्यौला मलतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय किसानहरूले गँड्यौला मल प्रयोग गरेपछि उत्पादन राम्रो हुनुका साथै माटोको उर्वराशक्ति बढेको अनुभव गरेका छन् ।

स्थानीय अनिता महतोले विगत छ महिनादेखि आफ्नो खेतमा रासायनिक मलको सट्टा गँड्यौला मल प्रयोग गर्दै आएकी छन् । उनले करिब पाँच कट्ठा जमिनमा विभिन्न तरकारीखेती गर्दै आएकी छन् । गँड्यौला मल प्रयोग गरेपछि रासायनिक मल खोज्न बजार धाउन नपरेको र उत्पादनमा सकारात्मक प्रभाव परेको उनले बताइन् ।

दनुवारी टोलका ११ घरपरिवारले ‘महारानी महिला कृषक समूह’ गठन गरी व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेका छन् । समूहमा आबद्ध अन्य किसानहरूले कम्पोष्ट मल उत्पादन गर्दै जलवायुमैत्री खेती प्रणाली अपनाउन थालेका छन् ।

गाईभैँसीको मलमूत्र र सड्ने झारपातमा गँड्यौला छाडेर उत्पादन गरिने यो मलले माटोमा चिस्यान कायम राख्न सहयोग पुर्याउँछ । यसले माटोको स्वास्थ्य सुधार गर्नुका साथै विषादीरहित उत्पादनमा समेत मद्दत गर्ने किसानहरूको भनाइ छ ।

लहानस्थित राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत किसानलाई आधुनिक र वातावरणमैत्री खेती प्रणालीतर्फ प्रोत्साहन गरिरहेको छ । परियोजनाअन्तर्गत गोठ सुधार, गँड्यौला मल उत्पादन, झोल मल, जैविक मल, सिँचाइ व्यवस्थापन तथा जलवायुमैत्री बीउ वितरणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।

परियोजनाका अनुसार मधेस प्रदेशमा हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु उत्थानशील कृषक समुदाय निर्माण गर्नु अभियानको मुख्य उद्देश्य हो । विज्ञहरूका अनुसार माटोमा कार्बन बढाउँदा पोषकतत्वको संरक्षण हुने, माटोको गुणस्तर सुधारिने र उत्पादन दिगो बन्ने भएकाले गँड्यौला मललाई भविष्यको प्रभावकारी विकल्पका रूपमा हेरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑