कार्यालयले असार ८ गते गरेको अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, उत्पादन प्रक्रिया तथा अनुमति सम्बन्धी विभिन्न कमजोरी फेला पारेपछि उद्योगलाई निर्देशन दिने, उत्पादन रोक्ने तथा खाद्य पदार्थ नष्ट गर्ने काम गरिएको हो ।
दोधारा चाँदनी–९ स्थित सितल ग्रुप मा पिउने पानीका लागि पुरानो र कुच्चिएको जार प्रयोग गरिएको पाइएपछि उत्पादन स्थलको सरसफाइ कायम गर्न र उत्पादकले पूरा गर्नुपर्ने दायित्व पालना गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी, दोधारा चाँदनी–८ स्थित लक्की जुस एण्ड खड्का बेभरेज इन्डस्ट्रिज ले आवश्यक अनुमति नलिई प्लास्टिकको पाउचमा फ्लेभरयुक्त पेय पदार्थ उत्पादन गरेको पाइएपछि उद्योगलाई सिलबन्दी गरी तत्काल उत्पादन बन्द गराइएको छ । साथै, ५० मिलिलिटरका चार हजार ३०० प्याकेट फ्लेभरयुक्त पेय पदार्थ, जसको मूल्य २१ हजार ५०० रुपैयाँ बराबर रहेको थियो, नष्ट गरिएको छ ।
यस्तै, दोधारा चाँदनी–८ कै कल्पना बेकरी उद्योग मा खाद्य स्वच्छता तथा सरसफाइको मापदण्ड पालना नगरी परिकारमा केक उत्पादन गरिएको पाइएपछि १२ किलोग्राम केक नष्ट गरिएको छ । उद्योगलाई उत्पादन स्थल सफा राख्न र आवश्यक दायित्व पूरा गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
भीमदत्त–१२ स्थित तिलक फुड्स ले पनि अनुमति नलिई प्लास्टिकको पाउचमा फ्लेभरयुक्त पेय पदार्थ उत्पादन गरेको पाइएपछि उद्योगलाई सिलबन्दी गरी उत्पादन रोक्का गरिएको छ । साथै, ५० मिलिलिटरका सात हजार ५०० प्याकेट फ्लेभरयुक्त पेय पदार्थ, जसको मूल्य ३७ हजार ५०० रुपैयाँ बराबर रहेको थियो, नष्ट गरिएको छ ।
कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खाद्य उद्योग तथा व्यवसायको नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।















प्रतिक्रिया थप्नुहोस्